खोप केन्द्रमा गण्डकीका मुख्यमन्त्रीको अनुमगन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गर्नुभएको छ ।

कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो ।

मुख्यमन्त्री पोखरेलले लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग कुराकानी गरेपछि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिनुभयो ।

संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहकालाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरीदिन उनले आम नागरिकसमक्ष अनुरोध गर्नुभएको छ ।

Facebook Comments