लुम्बिनी प्रदेश सभाकाे विशेष अधिवेशन आज, अविश्वासकाे प्रस्तावमाथि छलफल हुने

आज बुधबा र दिउँसो १ बजे लुम्बिनी प्रदेशको प्रदेशसभाकाे विशेष अधिवेशन सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलका लागि बोलाइएको सांसदहरूकाे समावेदनपछि विशेष अधिवेशन सुरु हुन लागेको हो ।

प्रदेशस्थित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा बहुमत गुमाइसकेको बताउँदै यसअघि पनि अविश्वासकाे प्रस्ताव ल्याएकाे थियाे । तर त्यतिबेला मुख्यमन्त्री पाेखरेलले पदबाट राजीनामा दिएर बहुमतकाे दावी सहित मुख्यमन्त्रीकाे सपथ लिनुभएकाे थियाे ।

मुख्यमन्त्रीकाे सपथ लिएकै बेला उहाँकाे समर्थनमा रहेका भनिएका सांसदले राजीनामा दिएका थिए भने समर्थन गरेर सरकारमा सहभागी भएका केही जसपाका सांसद कार्वाहीपछि पदमुक्त भएका थिए ।

सोही कारण मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याइएको विपक्षीको भनाइ छ । तर सत्ता पक्षले भने संविधान अनुसार अविश्वासकाे प्रस्तावमा छलफल हुनै नसक्ने जिकिर गर्दै अाएकाे छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा विपक्षी गठबन्धनले वैशाख ६ र वैशाख २६ गते दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि पोखरेलले राजीनामा दिनुभएकाे थियाे ।

वैशाख १९ मा तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवकाे असंवैधानिक रूपमा नियुक्ति र सपथ खुवाएकाले पाेखरेल मुख्यमन्त्रीमा बसिरहन सफल भएकाे विपक्षीकाे तर्क रहेकाे छ ।

विपक्षी गठबन्धनले त्यतिबेला नै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

लुम्बिनीमा एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको आवश्यकता पर्दछ । विपक्षी दल नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

विशेष अधिवेशन सुरु हुने दिन आज बिहानका लागि एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको छ । यसअघि मुख्यमन्त्री पाेखरेलले अल्पमतमा भएमा पद छाड्ने बताउनुभएकाे थियाे ।

एमाले सांसद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेशसभाको अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । एकपटक मुख्यमन्त्री बनेपछि २ बर्षसम्म अविश्वासकाे प्रस्ताव ल्याउन नपाउने संविधानमा उल्लेख भएकाे जिकीर रिट निवेदनमा उल्लेख छ ।

Facebook Comments