एमाले कार्यदलमा १० बुँदे सहमति
सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सम्मिलित कार्यदलमा बीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई साेमबार साँझ बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।
संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो मुद्दामा सुनुवाइ सकिएको छ आजका लागि पेसी ताेकिएकाले आज नै फैसला आउने संभावना छ ।
कार्यदलले २०७५ जेठ २ मा फर्किने सहमति गरेको छ । तर पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई पनि जिम्मेवारी दिन दुवै पक्ष सहमत छन् ।
सबै तहका कमिटी, निकाय र जनसंगठन, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेकपा गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने कार्यदलको सहमति छ ।
कार्यदलमा भएकाे सहमति अनुसार २०७७ फागुन २३ यता दुवै पक्षले गरेका सबै निर्णयहरु खारेज गर्ने सहमति पनि जुटेको छ भने विधान महाधिवेशनबाट सहमति अनुमाेदन गर्ने उल्लेख छ ।
पार्टी तथा जनसंगठनहरु पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।

