सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
नेपाली सेनाले सैनिक मञ्च दशैंका अवसरमा टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । उक्त फुलपाती बढाइँ कार्यक्रमकाे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले अवलाेकन गर्नुभएकाे छ छ ।
नेपाली सेनाले मंगलबार सैनिक मञ्च टुँडिखेलमा विशेष समाराेह गरी फुलपाती बढाइँ गरेकाे हाे ।
मंगलबार आयोजित समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी राष्ट्रपति भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी हुनुभएकाे थियाे ।
यस्तै समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएकाे थियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत गरिएकाे थियाे ।
यस्तै मन्त्रीहरु, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु समारोहमा उपस्थित थिए । नेपाली सेनाले हरेक बर्ष फुलपातीका अवसरमा फुलपाती बढाइँ समाराेह गर्दछ ।

