देउवाद्वारा पद तथा गोपनीयताको शपथ, मन्त्री मन्त्रिपरिषद् गठन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुएकाे छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएकाले ६ बजेका लागि तय भएकाे शपथ ग्रहण २ घण्टापछि धकेलिएकाे थियाे ।

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएकाे हाे ।

५ सदस्यीय मन्त्रिपरिषद् गठन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ मन्त्री नियुक्त भएसँगै सपथ ग्रहण समेत सम्पन्न भएकाे छ ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् भने यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा ‘प्रभाकर’ले अर्थ मन्त्रालय र पम्फा भुसालले ऊर्जामन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

Facebook Comments