सभामुख सहित शीर्ष नेताहरूकाे बैठक बस्दै

संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेकाे छ ।

सभामुख अग्निप्रसाद सापकाेटाकाे सचिवालयले दिएकाे जानकारी अनुसार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने छ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेताकाे बैठक राख्नुभएकाे हाे ।

साे बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ।

एमालेले १४ सांसदको कारबाहीलाई सभामुखले सदर नगरेको विरोधमा संसदमा अवरोध गर्दै आएको छ। एमालेले कार्वाही गरेका सांसदहरू मिलेर नेकपा एकीकृत समाजवादी गठन भएकाे थियाे । सभामुखले भने एमालेले उठाएकाे बिषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे तथा अाफूले संविधानसम्मत नै निर्णय लिएकाे बताउनुभएकाे छ ।

Facebook Comments