दशैं पर्वः महाअष्टमी मनाइँदै
हिन्दुहरूले मनाउने पर्व दशैं अन्तर्गत महाअष्टमी देवीकाे पुजा गरी मनाइँदैछ । महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेकाे छ ।
यसैगरी उपत्यका बाहिरका गोरखाको कालिका, मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, काभ्रेको नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको विहानैदेखि घुँइचो लागेकाे छ । ।
पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
दशैं नेपाल तथा भारतमा हिन्दु धर्मावलम्वीहरूले विशेष रूपमा मनाउने गर्दछन् ।

