प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त, दिउसाे २ बजे सपथ
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ शुक्रबार अपरान्ह हुनेछ ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरे पनि बहुमतीय सरकार गठन गर्न दलहरू असफल रहे ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ नदिँदा कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेका हुन् ।
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

