जनमाेर्चाका सांसद कृष्ण थापाको पद खारेज
सर्वोच्च अदालतले पार्टीको कारबाहीमा परेका राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाको पद खारेज गरेको छ ।
राजमोले सांसद पदबाट हटाएका थापाको पद सर्वोच्चले अन्तरिम आदेशमार्फत जेठ २३ गते थमौती गरेपनि साेकाे विरूद्ध राजमाेले दिएकाे ‘भ्याकेन्ट’ अन्तरिम आदेश पुनरावलाेकनकाे निवेदन उपर सर्वाेच्चले थापाकाे पद खारेज हुने गरी आदेश दिएकाे हाे ।
आदेशमा सर्वोच्चले परिस्थितिमा परिवर्तन भई थापा सांसद पदबाट हटिसकेको अवस्थामा अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने कारण नदेखिएको जनाएकाे छ ।
आदेशमा भनिएको छ, “यस अदालतबाट जारी भएको अन्तरिम आदेश पश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभाबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन ।
यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी यस अदालतबाट मिति २०७८/०२/२३ मा अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र औचित्यता रहिरहेको नदेखिदा सो मिति २०७८०२.२३मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपरी सर्वोच्च अदालत नियमावली २०७४(७) बमोजिम खारेज गरिएको छ ।”
याेसँगै गण्डकी प्रदेश सभामा तत्काल ५९ सदस्य मात्र कायम हुने भएकाे छ । संविधान अनुसार सांसदकाे पद रिक्त भएकाे स्थानमा ६ महिनाभित्र उप निर्वाचन गर्नुपर्ने हुन्छ ।



