कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामाको घोषणा

नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद हुँदा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य जस्तै आमन्त्रित केन्द्रीय सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने ब्यवस्था हुनुपर्ने उनीहरूकाे माग छ ।

क्षेत्रीय प्रतिनिधि पनि मान्ने खालकाे अवस्था नभएकाले राजीनामा दिनुपरेकाे आमन्त्रित केन्द्रीय कुमार खड्काले जानकारी दिनुभयाे ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका थिए । कांग्रेसकाे विधानमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान रहेकाे छ।

सम्बन्धित समितिका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत: प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने उनी हरूकाे माग छ ।

राजीनामा दिनेमा नन्दनकुमार दत्त (सुनसरी), कुमार खड्का (कास्की), बालकृष्ण पाण्डेय (नेजस भारत), आनन्द (गोरख) विष्ट (नेजस अमेरिका), नरेन्द्रकुमार चौधरी (सुनसरी), हसन अन्सारी (मोरङ), किरणराज शर्मा पौडेल (बाग्लुङ), रमा कोइराला पौडेल (सुनसरी), कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा), ध्रुव वाग्ले (तनहुँ), मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा), दिलीप राई, आशाराम चौधरी, राजेन्द्रबहादुर सिंह रहेका छन् ।

Facebook Comments