एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) भित्रको विवाद मिलाउनका लागि कार्यदल गठन भएको छ ।
कार्यदलमा पार्टी अध्यक्ष एवं केपी शर्माओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल रहनुभएको छ ।
त्यस्तै माधव नेपाल पक्षबाट उपाध्यक्ष डा.भीमबहादुर रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।
कार्यदलले ३ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको प्रधानमन्त्रीले अलिक थप्नुपर्छ कि भन्नुभएको बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले गतसाल फागुन २३ गते साविक नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) हुने गरी फैसला गरेपछि पनि एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले छुट्टा छुट्टै पार्टी गतिविधि गर्दै आएका थिए ।
गत बैशाख ३० मा भएको वार्तामा नेपाल पक्षधरले उठाएका एजेण्डा स्वीकार गर्ने निष्कर्षमा अध्यक्ष ओली पुगेपछि सहमतिको मोडालिटी बनाउन आइतबार कार्यदल गठन गरिएको हो ।
नेपालसँगको वार्तापछि संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले मिल्ने दिशामा गएको बताउनुभयो । एमाले विवाद मिल्ने दिशातिर गएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीको प्रतिक्रिया थियो, ‘मिल्छ’ ।

