पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि दिल्ली प्रस्थान
नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएकाे छ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल उपचाररत खनाललाई थप उपचारका लागि दिल्ली लगिएकाे हाे ।
खनालकाे सचिवालयका अनुसार उपचारका लागि खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली गएका छन् ।
दिल्लीकाे एपोलो अस्पतालमा स्वास्थ्यजाँच गरिने बताइएकाे छ । यसअघि काेराेना संक्रमणबाट मुक्त हुनुभएका खनाललाई ९ दिनसम्म ज्वरो आएपछि साेमबार नर्भिक अस्पताल भर्ना गरिएको थियो।

दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर खनालको उपचार भइरहेको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उहाँको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
खनालमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । परिवारकै चाहना र यसअघि उपचारमा संलग्न एपाेलाे अस्पतालका चिकित्सककाे चाहनामा खनाललाई दिल्ली लगिएकाे हाे ।
तस्वीर स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङकाे फेसबुकबाट

