बाढी पहिराे प्रभावितकाे उद्धारका लागि प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिनुभएकाे छ भने प्रभावकारी उद्धार कार्य सञ्चालनका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोनमा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेलसँग उद्दारका बिषयमा छलफल गर्नुभएकाे थियाे ।

साथै उहाँले स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित पार्टीका नेता-कार्यकर्ताहरुलाई हुन निर्देशन दिनुभएकाे छ ।

बुधबार नै प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले विरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

विज्ञप्तिमा बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएकाे छ ।

प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएकाे छ ।

उहाँले मृतकका परिवारलाइ उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग अनुरोध गर्नुभएकाे छ ।

Facebook Comments