अध्यादेश ल्याएर एमालेलाई विभाजन गर्ने षड्यन्त्र हुँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएकाे छ ।

साेमबार साँझ ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएकाे जिकीर गर्नुभएकाे हाे । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको आरोप लगाउँदै विपक्षी दलका नेता समेत रहनुभएका एमाले अध्यक्ष ओलीले एमाले विभाजन गर्ने षडयन्त्र छम्य नहुने बताउनुभएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’ साेमबार मध्यरात १२ बजेबाट संसदकाे चालू अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि एमाले झस्किएकाे हाे ।

अध्यक्ष ओलीले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गर्नुभएकाे छ भने स्थायी कमिटी र संसदीय दलकाे बैठक बाेलाउनुभएकाे छ । पछिल्लाे एमालेमा माधव नेपाल पक्ष र ओली पक्षवीच विवाद चर्केकाे छ ।

Facebook Comments