गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

प्रदेश सभा विघटनबाट जोगियो

गण्डकी प्रदेशका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत हाँसिल भएको छ ।

शुक्रबार प्रदेश सभामा पोखरेलले आफूलाई विश्वासको मत दिनका लागि राख्नुभएको प्रस्तावमा मतदान हुँदा पोखरेललाई बहुमत प्रदेश सभा सदस्यले विश्वासको मत प्रदान गरेका हुन् ।

गण्डकी प्रदेश सभामा हाल ५९ सदस्य कायम रहेका छन् । जनमोर्चाका सांसद कृष्ण थापालाई सो पार्टीले पदमुक्त गरेकाले १ सिट रिक्त रहेको छ ।

विश्वासको मतका लागि ३० मत आवश्यक हुनेमा पोखरेलको पक्षमा ३१ मत परेको थियो । भने विपक्षमा २७ मत परेको थियो ।

पोखरेललाई नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, जनता समाजवादी पार्टी, राष्टिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ सहितले समर्थन गरेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

नेकपा एमालेका सांसदहरुले भने विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

विश्वासको मत लिनु अगाडिको छलफलमा विपक्षी एमालेका सांसदहरुले सत्ता गठबन्धनलाई अवसरवादी र अपवित्र गठबन्धनको आरोप लगाएका थिए ।

Facebook Comments