लुम्बिनी प्रदेश सरकार विरूद्ध अदालत जाने विपक्षीकाे निर्णय
लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।
बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।
प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।
गत वैशाख १९ गते एमाले संसदीय दलका नेता पोखरेलले आफूसंग बहुमत रहेको दावी गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।
पोखरेलले आफ्नो पक्षमा बहुमत देखाउन उपसभामुख कृष्णी थारु र माओवादी केन्द्रकी विमला खत्री वलीको हस्ताक्षर दुरुपयोग गरेर कीर्ते काम गरेको नेता खानले आरोप लगाउनुभयाे ।
‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न नियुक्त गर्नुको दुई घण्टा अगाडि नै भेटेर जानकारी गराउँदा गराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक थियो’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भन्नुभयाे, ‘हामीले उतिबेला नै कानूनी उपचार खोज्ने भनेका थियौं, सोही अनुसार आज निर्णय गर्यौं ।’


