संसद फेरि भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनकाे घाेषणा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले दाेस्राेपटक संसद विघटन गरी निर्वाचनकाे घाेषणा गरेकाे छ ।

संसदमा विश्वासकाे मतकाे जाँच नै नगरी संसदकाे विश्वास प्राप्त हुने अवस्था नरहेकाे भन्दै राष्ट्रपति मार्फत् अन्य धाराहरूकाे कर्मकाण्डी प्रक्रिया पुरा गर्न लगाएर प्रधानमन्त्री ओलीले संसद भंग गरी निर्वाचनकाे घाेषणा गर्नुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति ताेक्नुभएकाे सूचना मध्यरातमा सार्वजनिक भएकाे थियाे ।

शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६-५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६-७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानको धारा ७६-७ बमोजिम प्रतिनिधिसभा विघटन गर्न र अर्को प्रतिनिधिसभाको निर्वाचनका लागि मन्त्रिपरिषदले सिफारिश गरेकाे थियाे ।

साेही सिफारिस अनुसार संसद विघटन र पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी निर्वाचन घाेषणा गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि प्रधानमन्त्रीमा धारा ७६-५ अनुसार विश्वासकाे मत प्राप्त हुने आधार नदेखिएकाे भन्दै प्रक्रिया शुरू गर्न सिफारिश गर्ने ओलीले १५३ जनाकाे समर्थन रहेकाे भन्दै र शेरबहादुर देउवाले १४९ जना सांसदकाे हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गर्नुभएकाे थियाे ।

राष्ट्रपतिले दुवै दावीमा विश्वासकाे मत दावी गर्ने आधार नपुगेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

Facebook Comments