प्रतिनिधिसभा विघटन असंवैधानिकः सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाे टिप्पणी गर्नुभएकाे छ ।

शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकाेटाले २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत रहेकाे जिकीर गर्नुभएकाे छ ।

विज्ञप्तिमा सम्मानित सर्बोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’ उल्लेख भएको बताइएकाे छ ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको समेत सभामुखकाे भनाइ रहेकाे छ ।

प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने सापकाेटाले स्पष्ट पार्नुभएकाे छ ।

राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुने विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments