माओवादी केन्द्रले बृहत कम्युनिष्ट निर्माणका लागि पहल गर्ने

नेकपा माओवादी केन्द्रले वृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने भएकाे छ । स्थायी कमिटीकाे बैठकबाट बामपन्थी पार्टीहरूवीचकाे धुव्रीकरणका लागि पहल गर्ने निर्णय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यस्तै बैठकले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको हाे ।

माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ ।

जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको छ । माओवादी केन्द्र वडा, जिल्ला तथा प्रदेशका अधिवेशनका साथै राष्ट्रिय सम्मेलनकाे तयारीमा जुटेकाे छ ।

Facebook Comments