ओली निरंकुश र स्वेच्छाचारी शासकः विपक्षी गठबन्धन

विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी शासक बन्न खाेजेकाे टिप्पणी गरेका छन् ।

बिहीबार काठमामाण्डाैमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्ने गठबन्धनका नेताहरूले प्रधानमन्त्री निरंकुश र स्वेच्छाचारी बनेकाे बताएका हुन् ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीकाे कारण मुलुकमा संकट निम्तिएकाे बताउनुभयाे । सभापति देउवाले असंवैधानिक काममा राष्ट्रपति र प्रधानमन्त्रीकाे मिलेमताे रहेकाे समेत उल्लेख गर्नुभयाे ।

उहाँले लोकतन्त्र बचाउन विपक्षी गठबन्धन बनेको भन्दै प्रतिनिधि सभा विघटनविरूद्ध जनपरिचालनका कार्यक्रम ल्याउने बताउनुभयाे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा  प्रधानमन्त्रीको कडा आलोचना गर्नुभएकाे थियाे ।

उहाँले लाेकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन निर्माण भएकाले पछिसम्म पनि सहकार्य कायम राख्ने उल्लेख गर्नुभयाे । संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्‍याएको प्रचण्डकाे भनाइ थियाे ।

सर्वाेच्चकाे फैसलापछिकाे अवस्थामा आफू प्रधानमन्त्री भएकाे भए बालुवाटरमा समेत बस्न नसक्ने भन्दै मन्त्रीहरूलाई क्वाटर नछाड्न भनेकाेमा समेत प्रचण्डले सरकारकाे आलाेचना गर्नुभयाे ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले गल्ती सुधार गर्ने हो भने ठाउँ दिन सकिने बताउनुभएकाे थियाे । नेता नेपालले पनि प्रधानमन्त्रीकै कारण मुलुकमा जटिलता थपिएकाे जिकीर गर्नुभएकाे थियाे ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेकाे घटना विश्वमा विरलै हुने टिप्पणी गर्नुभयाे ।

उहाँले प्रधानमन्त्री ओलीले निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहेकाले नै यस्ताे भएकाे समेत उल्लेख गर्नुभयाे ।

आफूहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिएको समेत यादवकाे भनाइ थियाे ।

Facebook Comments