१२ गते ताेकिएकाे कांग्रेसको वडा अधिवेशन स्थगित
साउन १२ गतेका लागि तय भएकाे नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शेरबहादु र देउवाकाे बुढानिलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तयारी नपुगेकाे भन्दै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’
प्रवक्ता शर्माका अनुसार महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशन भने ताेकिएकाे मितिमा नै हुने छ ।
क्रियाशील सदस्यता सम्बन्धि विवादले कार्यतालिका अनुसार काम नहुँदा वडा अधिवेशन प्रभावित भएको हो । यसैवीच बैठकले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएकाे छ ।
सभापति देउवाले सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गरी समस्या समाधानका लागि जिम्मेवारी दिनुभएकाे हाे ।

