माओवादी केन्द्रमा पदाधिकारी बढाउन प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गर्नुभएकाे छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गर्नुभएकाे हाे ।
हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ ।
वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गर्नुभयाे । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने माओवादी केन्द्रका नेता हरि अधिकारीले जानकारी दिनुभयाे ।
माओवादी केन्द्रकाे यही पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ । प्रचण्ड यसपालि पनि निर्विरोध अध्यक्ष चुनिने निश्चित छ ।

