निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाटै खोप खरिद गरौंः सांसद कोइराला
कास्की क्षेत्रनं १ (१)का प्रदेश सांसद एवं माओबादी केन्द्रका नेता दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट नै कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न प्रस्ताव गर्नुभएको छ ।
आगामि बर्षको बजेटको तयारी गरिरहेका बेला संसदको अर्थ तथा विकास समितिका सभापति समेत रहनुभएका कोइरालाले जनताको स्वास्थ्य ठूलो भएकाले पहिला कोभिड विरुद्धको खोप खरिदका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
विहिबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
साथै उहाँले आगामि बजेटको ५० प्रतिशत बजेट स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने भन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ५ करोड पु¥याउनुपर्ने बताउनुभयो ।
सांसद कोइरालाले प्रदेश सरकारले अनाबश्यक रुपमा मन्त्रालय थप्दै गएको खर्चको भार बढाउँदै लगेकोमा आलोचना गराउनुभयो । उहाँले सत्ता जोगाउन राजनैतिक बेइमानी गर्दै खर्च बढाउने काम प्रदेश सरकारले गरिरहेको बताउनुभयो ।
सरकारले विगत ३ बर्षमा आम्दानीका नयाँ स्रोत के के पहिचान गर्याे भन्ने प्रश्न गर्दै जसरी पनि सत्तामा रहने प्रपञ्चमा नलाग्न सुझाव दिनुभयो ।

