एमालेले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने
पार्टीभित्रकाे विवाद र सर्वाेच्च अदालतले समेत मान्यता नदिएपछि नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।
गत २८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूकाे केन्द्रीय कमिटी बैठकले एकपक्षीय रूपमा नवाैं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्दै दशाैं महाधिवेशन आयोजक कमिटी गठन गरेकाे थियाे । उक्त निर्णयप्रति पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले तीव्र असहमति जनाउँदै आएकाे छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार महाधिवेशन आयाेजक समिति खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको र त्यसपछि केन्द्रीय कमिटीबाट थप निर्णय हुनेछन् ।
आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट १६ गते बस्ने बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी समेत गरिएकाे छ । उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विमति राख्दै आएको छ ।

