गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना पुष्टि, प्रदेशसभा बैठक नराेकिने
गण्डकी प्रदेशसभाका ३ सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशसभाका सबै सदस्य र कर्मचारी समेतको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो ।
संसदको विशेष अधिवेशनको दोस्रो बैठकमा सत्तारुढ नेकपा एमालले संसदहरुको पिसिआर परीक्षण हुनुपर्ने भन्दै अवरोध गरेपछि मंगलबार प्रदेश सरकारले परीक्षणको ब्यवस्था मिलाएको थियो ।
कोराना संक्रमण पुष्टी भएका सांसदहरुमा एमालेका राजीव पहारी, प्रभा कोइरला र काँग्रेसकी मनकुमारी गुरुङ रहेका छन् । संसद सचिवालयमा कार्यरत १ कर्मचारीमा समेत संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी भएपनि संसद बैठक भने सूचारु हुने भएको छ । संक्रमण पुष्टी भएका माननीयलाई अविश्वासको प्रस्तावमाथि मत हाल्ने ब्यवस्था मिलाइए पनि बोल्न नदिनेबारेमा दलहरुवीच सहमति भएको छ ।
मुख्यमन्त्रीले संसदमा अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नमाथि जवाफ दिने र त्यसपछि अविश्वासको प्रस्ताव छलफलको प्रक्रियामा जाने बताइएको छ ।
मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विरुद्धमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको र सोही विषयमा छलफल गर्न विपक्षी दलहरुले विशेष अधिवेशन माग गरेका थिए ।
यसअघि संसदको हिउँदे अधिवेशन आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राती नै अन्त्य गरेको थियो ।

