कोरोना संक्रमण पुनः बढ्याे, सक्रिय संक्रमितकाे संख्या ३० हजार नाघ्याे
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ हजार ३ सय ३५ जना र ४ हजार ६ सय ८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएकाे जानकारी अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३ सय ४२ पुगेको छ । तीमध्ये ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
लकडाउन खुकुलाे भएसँगै संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । मन्त्रालयले पछिल्लाे पटक ३ खालका भेरियन्ट देखिएकाे भन्दै सचेत हुन सर्वसाधारणलाइ अनुराेध गरेकाे छ ।

