माधव नेपालमाथि ओलीकाे गम्भीर आराेप, अपराधी र देशद्रोही करार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने बताउनुभएकाे छ।
नेपाल आन्दोलन विरोधी र देशद्रोहीकाे संज्ञा दिंदै ओलीले नेपालजस्ता नेतालाई कुनै ठाउँ नरहेको उद्घोष गर्नुभयाे ।
‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भन्नुभयाे, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’
पार्टीमा नेपाल पक्षका केही नेताबाहेक अन्य नेता कार्यकर्तासँग छलफल भइरहेकाे र उनीहरू फर्कन लागेकाे पनि अध्यक्ष ओलीकाे भनाइ थियाे । ओलीकाे पछिल्लाे भनाईले एमालेभित्र सहमतिका लागि भएकाे छलफलमा खासै प्रगति हुन नसकेकाे स्पष्ट हुन्छ । नेपाल लगायत केही लाई छाडेर अन्यलाई समेट्ने ओलीकाे इच्छालाई समेत यसले थप पुष्टी गरेकाे छ ।
नेपाल समूहले भने माधवकुमार नेपाल सहितकै एकता हुने बताउने गरेका छन् ।

