माओवादी केन्द्रको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने

नेकपा (माओवादी) केन्द्रको विधान मस्यौदा अनुमोदन भएको छ भने शनिबार नै नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने भएकाे छ ।

यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।

विधानमा माओवादी केन्द्रको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने ब्यवस्था छ । पदाधिकारी भने केन्द्रीय समितिले नै टुंग्याउने भएकाे छ ।

यसअघि विधानमा भने एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएकाे थियाे ।

यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनित गर्न उल्लेख छ ।

प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ भने प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने छ । विधान पारित भएलगत्तै  बन्दसत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि प्रक्रिया सुरु गर्ने निर्णय लिएकाे छ ।

Facebook Comments