माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै
नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिंदैछ ।
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले काठमाण्डाैमा दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयाे ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यतालिका छ ।
प्रशिक्षणमा विज्ञकाे साथै अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव राख्नेछन् ।
कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने २ दिने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।
माओवादी केन्द्रले प्रत्येक चार/चार महिनामा प्रगति समीक्षासहितको प्रतिवेदन पार्टीमा पेश गर्नुपर्ने नियम बनाएकाे छ । लक्ष्य के थिए, उपलब्धि कति भए, निर्धारित उपलब्धि प्राप्त गर्न नसक्नुका कारण के हुन्, चुनौतीको समाधान गर्ने सुझाव के हुन् भन्ने विषयसहितको प्रतिवेदन पार्टीमा बुझाउनुपर्ने छ ।

