अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधनाका साथ ऋषिपञ्चमी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।

हरितालिका तीजकाे अन्तिम दिन हिन्दु धर्मावलम्वी महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्नुपर्ने धार्मिक प्रचलन छ ।

ऋषिपञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजा गरेसँगै तीज व्रत पनि समाप्त हुने गर्दछ ।

आजकाे दिन टाेल टाेलमा महिलाहरूले समूहमा अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गर्ने गर्दछन् ।

Facebook Comments