पुटिनद्वारा युक्रेनका ४ क्षेत्र रूसमा गाभिएको घोषणा
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गर्नुभएकाे छ। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभएकाे हाे ।
रूसले त्यस क्षेत्रका लागि प्रतिनिधि समेत नियुक्त गरेकाे छ । यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा केही दिनअघि जनमत संग्रह गरिएको थियो ।
यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको रूसी पक्षको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।
राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन्।
युक्रेनले भने आफ्नो भू–भाग मुक्त गराउन लडाइँ जारी राख्ने प्रतिक्रिया दिएको छ। पश्चिमा मुलुक र युराेपका मुलुकले भने रूसकाे उक्त कदमकाे विराेध गरेका छन् ।

