रूप फेर्दै पोखरा बसपार्क

बर्षामा हिलाम्मे हुने बसपार्क ग्राभेल राखेपछि केही सहज

घनश्याम पाण्डेय, पाेखरा

पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन । बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण गरेसँगै बसपार्क निर्माणका लागि पैसापनि छुट्याइएको थियो । जग्गा र पैसा भएरपनि राजनीतिक ईच्छाशक्ति नभएका कारण बसपार्क निर्माण भएन । जसका कारण पोखरेलीले आधुनिक बसपार्क अझै पाउन सकेका छैनन् ।

तर पोखरेलीको सपना अनुसार पोखरा बसपार्क नबनेपनि त्यसले रुप भने फेर्दैछ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बसपार्कमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य गरेसँगै पोखरा बसपार्कले रुप फेर्न थालेको हो ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा बसपार्क क्षेत्रमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य निरन्तर भइरहेको छ । बसपार्कको आधा भन्दा बढी भागमा ग्राभेल हालेर सम्याईसकिएको छ भने बसपार्कको पश्चिम भागमा नाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ ।

पोखरा बसपार्कले रुप फेर्न थालेपछि स्थानिय हर्षित छन् । उनीहरु वर्षौंपछि बसपार्कले रुप फेर्न थालेपछि त्यसको महत्व र उपादेयतापनि बढ्नेमा आशावादी छन् । तर अत्याधुनिक बसपार्कचाहिं कहिले बन्छ भन्नेमा उनीहरुको चासो छ । यद्वपी बसपार्क क्षेत्रमा गरिएको ग्राभेल भरेर सम्याउने काम र नाला निर्माणको काम भएकोमा उनीहरु खुशी छन् ।

पोखरा बसपार्क पोखरा महानगरपालिका वडा नम्बर–९ मा पर्छ । बसपार्ककाे रुप फेर्न पाउनु नै ठूलो कुरा भएको वडाध्यक्ष दीपेन्द्र मर्सानीकाे तर्क छ । । नहुनु भन्दा केहि हुनु राम्रो हो,उहाँले भन्नुभयाे, ‘कम्तिमा ग्राभेल हालेर सम्याउने र नाला निर्माण मात्रै भएमापनि बर्खामा हिलाम्मे र हिउँदमा धुलोमुक्त हुन्छ ।’

यतिमात्रैपनि स्थानीय र पोखरेलीका लागि उल्लेख्य उपलब्धी हुने उहाँकाे भनाई छ । उहाँले पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले रुप फेर्न लागेको बताउनुभयाे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क क्षेत्रको सबै भागमा ग्राभेल भरिने बताउनुभयाे । उहाँले तत्काल सबै भागमा ग्राभेल भरेर सम्याउनुका साथै नालापनि निर्माण हुने बताउनुभयाे । जसले गर्दा बसपार्क बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनबाट बच्ने उहाँको भनाई छ ।

टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापाले कम्तिमा अहिले बसपार्क क्षेत्रमा ग्राभेल र नाला निर्माण हुनुपनि खुशीको कुरा भएको बताउनुभयाे । यसले पोखरामा अत्याधुनिक बसपार्क बन्छ भन्ने सन्देश दिने उहाँको भनाई छ ।

गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गर्नुभएकाे थियाे ।

रुप फेरेसँगै पोखरामा अत्याधुनिक बसपार्क बन्छ कि भन्ने आशा पलाएको छ । यसअघि पोखरामा एकमात्र बसपार्क बनाउने योजनासहित जग्गा अधिग्रहण गरिएको थियो । तर अहिले पोखरामा दुई वटा बसपार्क बनाउने तयारी छ । पृथ्वीचोकस्थित बसपार्कलाई सिटी टर्मिनल बसपार्क र पोखरा–३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउने तयारी भएको हो । जसका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेका छन् ।

पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्क बनाएर त्यहाँबाट पोखरा भित्रका सबै ठाउँमा जाने गाडीहरु छुट्ने र भित्रिने गराईन्छ । जसका कारण अहिले पोखराका विभिन्न ठाउँबाट गाडी छुट्ने कार्यको अन्त्य गर्नेछ । सडकमै पार्किङ गरेर बस छुटाउने कार्यको यसले अन्त्य गर्नेछ । भद्रगोल पार्किङ र अव्यवस्थित बस छुट्ने र छुटाउने विकृतिको अन्त्य हुनेछ । यसले गर्दा अहिलेको बसपार्क हेरेर पोखराको दुर्गति र अव्यवस्थापनको मस्तिष्क मन्थन गर्नेहरुलाई पोखराको विकास र असल व्यवस्थापनको सन्देश दिनेछ ।

त्यस्तै, पोखरा–३२ लामेआहालस्थित बसपार्कबाटचाहिं पोखराको कोरसिटी नभित्री नजिकका जिल्ला जाने गाडीहरु जाने व्यवस्था मिलाउने तयारी छ । काठमाडौंसहित पूर्वबाट आएका गाडीहरु लामेआहालबाट बाईपास रोडमार्फत पर्वत, स्याङ्जा निकाल्ने र उताबाट आएका गाडीलाई पोखराको कोरसिटी ननिकाली सोहि बाटोबाट बाहिर पठाउने तयारी गरिएको हो ।

लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन जग्गा अधिग्रहण गर्नुपर्ने काम बाँकी नै छ । त्यसैले त्योभन्दा पहिले पोखरा बसपार्क बनाउन सजिलो छ । तर पोखरा बसपार्कको जग्गामा बसेका सुकुम्बासी आधुनिक बसपार्क निर्माणका लागि प्रमुख समस्याका रुपमा देखा परेका छन् ।

तर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यसकोपनि समाधान खोजेर बसपार्क निर्माण गर्ने बताउनुहुन्छ । उहाँले सुकुम्बासीको व्यवस्थापन सहित आधुनिक बसपार्क बन्ने बताउनुभयाे । सुकुम्बासी समाधानसँगै बसपार्कको डिपीआर तयार गरेर यसमा सिटी बसपार्क निर्माण गरिने उहाँको भनाई छ ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन ।

पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।

Facebook Comments