नागरिकता सम्बन्धि विधेयक राष्ट्रिय सभाबाट हुबहु पारित

राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ। 

भदौ २ गते प्रतिनिधि सभाले पनि विधयेकका केही बिषय पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएकाे विधेयक जस्ताको तस्तै पारित गरेको थियो।

राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो। 

विधायन समितिमा सत्ता पक्षकाे बहुमत रहेकाले साे विधेयक सत्ता पक्षकाे निर्णय बमाेजिम हुबुह प्रतिवेदनका रूपमा राष्ट्रियसभामा पेश भएकाे हाे । राष्ट्रियसभाकाे शुक्रबारकाे बैठकले विधेयक पारित गरेकाे हाे ।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेसँगै प्रतिनिधिसभाबाट राष्ट्रियसभाकाे सन्देश सुनाएर प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पठाइनेछ ।

राष्ट्रपतिले यसपटक भने पुनः फिर्ता पठाउने या हाेल्ड गर्न सक्ने कानुनी प्रावधान छैन ।

विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। त्यस्तै विधेयकले पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्ने छ।

अंगीकृत नागरिकता र बाबुकाे पहिचान उल्लेख गर्नुपर्ने लगायतका प्रावधानका बिषयमा पुनर्विचार गर्नुपर्ने राय राष्ट्रपति कार्यालयले दिएकाे थियाे ।

Facebook Comments