सत्ता गठबन्धन बैठकः स्थानीय निर्वाचनबारे छलफल

सत्ता साझेदार दलहरूवीच आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल भएकाे छ । यसअघि गठबन्धन गरेर निर्वाचनमा जान सैद्धान्तिक रूपमा सहमत भएका दलहरूवीच स्थानीय तहमा सिट बाँडफाँड लगायतका बिषयमा माेडालिटी बनाउनेबारेमा छलफल भएकाे श्राेतले जनाएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे बैठमा वैशाख ३० गते हुने स्थानीय तहमा के आधारमा तालमेल गर्ने भन्नेबारेमा छलफल भएकाे बताइएकाे छ ।

यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो ।

आजको सत्ता गठबन्धनको बैठकमा सोही समितिको प्रतिवेदन वा रिपोर्टिङबारे छलफल हुने नेताहरुले बताएका छन् । कतिपय जिल्ला तथा प्रदेशमा समेत बैठक बसेर गठबन्धनका दलहरूले वडातहसम्म नै गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति गरेका छन् भने कतिपय स्थानमा कार्यदल गठन गरेका छन् ।

खासगरी महानगरपालिकाहरूमा भागबण्डाका लागि दलहरूका लागि पेचिलाे बन्ने देखिएकाे छ । गठबन्धनका लागि कांग्रेस बाहेकका दलमा खासै विमति छैन । कांग्रेसमा भने एक्लै निर्वाचनमा जानुपर्ने धार पनि बलियाे रूपमा देखा परेकाे छ । यद्यपि कांग्रेस केन्द्रीय समितिकाे बैठकले भने निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गरेर जाने निर्णय गरेकाे थियाे ।

Facebook Comments