पाेखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्वमा जाेड
पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् ।
मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् ।
पोखरा १७ का व्यवसायीहरूले पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताएका छन् । अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पुर्याएमा संघको गरिमा उचो हुने उद्योगी व्यवसायीकाे भनाइ छ ।
व्यवसायीलाई समस्या पर्दा बोलिदिने मान्छे समेत संघमा नभएपछि धेरै उद्योगी व्यवसायीलाई संघ प्रति आकर्षण नरहेकाले युवालाई नेतृत्वमा पठाउन सके विरासत जोगिने उनको तर्क छ ।
भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेसनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
चुनावी घरदैलो निस्केको अर्जुन पोखरेल प्यानल छोरेपाटन, डेभिजफल, बरालफिड, बिरौटा, घारीपाटन, ड्यामसाइड, रत्नचोक, सिर्जनाचोक लगायत ठाउँमा पुगेको थियो ।
त्यहाँ पुगेको टोलीलाई उद्योगी व्यवसायीहरुले उद्योग वाणिज्य संघको गिर्दो शाखका बारेमा प्रश्न गरेका थिए । ‘सधैं ३ हजार १ सय मात्र सदस्य बनाउने की थप्ने?’ भन्ने उनीहरुको प्रश्न थियो ।
जवाफमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आफू विजयी भएमा ठूला, मझौला र साना व्यावसायीहरुलाई समेटेर लैजाने बताउनुभएकाे थियाे ।
सडकमा व्यापार गर्नेदेखि ठूला व्यापार व्यवसाय गर्नेहरुलाई सम्मान हुने गरी कार्यक्रम ल्याउने र निजी क्षेत्र मैत्री व्यवहारका लागि सरकारसँग पैरवी गर्ने उहाँको प्रतिबद्धता थियाे । ८ बुँदे घोषणा पत्र तयार गरेर चुनाव मैदानमा होमिएको अर्जुन प्यानलले अन्य देशको च्याम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने बताएको छ ।
जसले प्राविधिक ज्ञान आदान प्रदान, नयाँ व्यापारका अवसर खोज्न साझेदारी विचार, सांस्कृतिक मूल्य र परम्परा आदान प्रदान हुने पोखरेलले बताए । साथै साझेदारी अवसर खोज्नका लागि बैदेशिक भ्रमणलाई बढवा दिने लक्ष्य लिइएको छ ।
पोखरा महानगरपालिकासँगै व्यापारिक अन्य संघसंस्थाहरुको सहकार्यलाई अझ प्रभाबकारी बनाउँदै लैजाने घोषणापत्रमा उल्लेख गरेको छ ।
यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् ।

