५ दलीय गठबन्धन संविधानकाे कलंकः एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन देशकाे कलंक भएकाे टिप्पणी गर्नुभएकाे छ ।
साथै उहाँले गठबन्धन झाडीमा जन्मिएको भनी टिप्पणी गर्नुभएकाे छ ।
सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा ओलीले भन्नुभयाे, ‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’
परमादेशबाट आएको गठबन्धन भन्दै जनताले साथ नदिने उहाँकाे तर्क थियाे । साथै ओलीले वैशाख ३० पछि जनताले कसलाइ खतम गर्छन थाहा हुन्छ भन्दै नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालकाे खराे आलाेचना गर्नुभयाे ।
नेता नेपालले पाेखरामै भएकाे चुनावी सभामा दम्भ र अहंकारका कारण ओलीको पतन भएकाे भन्दै कांग्रेसले समेत दम्भ देखाए पतन हुने चेतावनी दिनुभएकाे थियाे ।
साेकाे जवाफमा १५ वर्ष एमालेकाे नेतृत्वमा बसेर एमालेकै काँध चढेर प्रधानमन्त्री समेत भएका व्यक्तिले एमाले सकिन्छ भनेकाे सुनेकाे भन्दै बैशाख ३० पछि गठबन्धन समाप्त हुने बताउनुभएकाे हाे ।
उहाँले गठबन्धनलाई सेतीमा सलल बगाउनुपर्ने भन्ने टिप्पणी समेत गर्नुभएकाे थियाे ।

