नागरिकता विधेयक प्रमाणित नगर्ने भए राष्ट्रपतिले राजीनामा गर्नुपर्ने हुन सक्छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभएकाे छ ।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नहुने अवस्थामा कि त राष्ट्रपतिले राजीनामा दिनुपर्ने या याे बिषय अदालतमा पुग्ने बताउनुभयाे ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुन: संसदमा फिर्ता गर्नुभएकाे थियाे । साे विधेयक हुबहु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुन: पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगिसकेकाे छ ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने भनेकाे प्रचण्डले उल्लेख गर्नुभयाे ।
प्रचण्डले नागरिकता विधेयकसँग सम्बन्धित विषयलाई राष्ट्रपतिले ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको पनि वताउनुभयाे ।

