नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावः ५ समूह प्रतिस्पर्धामा

नेपाल इन्जिनियर्स एशोसिएसनको शुक्रबार भइरहेको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा मतदान बिहान ९ बजेदेखि जारी छ । काठमाण्डाै लगायत देशका १४ स्थानमा मतदानका लागि केन्द्र ताेकिएकाे छ भने साँझ ५ बजेसम्म मतदान हुनेछ ।

कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) ले सर्वसम्मत उम्मेदवार टुंगो लगाउन नसकेपछि नेपाली कांग्रेसबाटै दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सिडेनबाट हरिबहादुर दर्लामी नेतृत्वकाे समूह र सिडेनकै दिलिपकुमार झाकाे समूह का साथै नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा सुरज लामिछानेकाे समूह चुनावी मैदानमा छन्।

यस्तै नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघले भने चुनावी तालमेल गर्दै अध्यक्षमा हरिराम पराजुलीकाे नेतृत्वमा चुनावमा हाेमिएकाे छ ।

नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालले राजेन्द्रप्रसाद हाडालाई अध्यक्षमा उठाएको छ। पाँच वटा प्यानलबीच आज चुनावी प्रतिस्पर्धा भइरहेको छ।

एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भइरहेको हो। प्रदेश नेतृत्व चयनका लागि समेत मतदान भइरहेकाे छ ।

Facebook Comments