वागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने सत्ता गठबन्धनकाे निर्णय

सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

बुधबार निर्वाचन आयाेगले ताेकेकाे उम्मेदवारी फिर्ता लिने समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले त्यस्ता उम्मेदवारलाई कार्वाही गर्ने सत्ता गठबन्धनकाे बैठककाे निर्णय छ ।

आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो।

उक्त बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्। तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन्।

गठबन्धनकाे बैठक लगत्तै कांग्रेसकाे बैठकले वागी उम्मेदवारी फिर्ता नभएमा समर्थक र प्रस्तावक समेतलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएकाे छ ।

Facebook Comments