अभिभावकीय संस्थाका रूपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीः लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रूपमा राजा र कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउनुभएकाे छ ।
काठमाण्डाैमा भएकाे कार्यक्रममा सम्बाेधनका क्रममा लिङ्देनले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था र अभिभावकीय संस्थाका रूपमा राजतन्त्रकाे पक्षमा राप्रपा रहेको बताउनुभयाे ।
जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था कायम हुनुपर्ने भन्दै लिङ्देनले हिन्दु राष्ट्र नेपाल हुनुपर्नेमा समेत जाेड दिनुभयाे ।
अहिले सरकारकाे नेतृत्वमा रहेका दलहरू असफल भएकाले पुनः तिनै दल र ती दलका नेतालाई दोहोर्याएर भोट दिने गल्ती नगर्न सहभागीसँग अनुराेध समेत गर्नुभयाे ।
निर्वाचन प्रणाली सुधार गरी पूर्ण समानुपातिक संसद बनाउनुपर्ने तथा संसद बाहिरबाट मन्त्रिपरिषद् गठन हुनुपर्ने मान्यतामा राप्रपा रहेकाे लिङ्देनकाे भनाइ थियाे ।
राप्रपाले २०४६ सालपछि नेताहरूका सम्पत्ति छानविन गर्न नागरिक आयोग गठन गर्ने बताउनुभयाे । उहाँले भष्ट्राचारमाथि निर्ममताका साथ डाेजर चलाउनुपर्नेमा जाेड दिनुभयाे ।

