संस्कृति र सम्पदा संरक्षणमा जनपक्षीय कानून निर्माण गर्ने मन्त्री श्रेष्ठकाे प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री समेत रहनुभएका काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई संस्कृति तथा सम्पदाको राजधानीका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

नेता श्रेष्ठले चुनावी प्रतिवद्धतामा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्राकृतिक, सांस्कृतिक र मूर्त अमूर्त सम्पदा लाई केन्द्रित गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।

विश्व सम्पदा हनुमानढोकादेखि विश्व सम्पदा स्वयम्भूसम्म सम्पदा मार्ग निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने र काठमाडौँ निर्वाचन क्षेत्र नं ८ भित्रका सांस्कृतिक सम्पदाहरू भएका विभिन्न स्थानहरुलाई क्रमैसंग सम्पदा मार्ग विस्तार गर्दै लैजान पहल गर्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभएको छ ।

नेपाल संवत्‌को इतिहाससँग जोडिएको लखुतिर्थलाई राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनीसंग जोडेर ऐतिहासिक स्थलको रूपमा विकास गर्न पहन गर्ने, पानीको वैकल्पिक व्यवस्थापनको लागि आकाशे पानी संकलन कार्यलाई अभियानको रूपमा संचालन गर्ने नेता श्रेष्ठको चुनावी प्रतिवद्धतामा उल्लेख छ ।

पर्यटन व्यवसायलाई उद्योगको रूपमा स्थापित गर्न आवश्यक नीति निर्माण गर्ने, खेल पर्यटन विकास गर्ने, एकीकृत बस्तीहरूको विकास गर्ने, नेपाललाई बाह्रै महिना पर्यटकीय गन्तव्य स्थलका रुपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने, युवाहरुलाई पर्यटन व्यवसायमा आधारित सीपहरूमा दक्ष वनाउन तालिमको व्यवस्था गर्ने र हरेक वडामा रोजगार परामर्श केन्द्र स्थापना गर्ने श्रेष्ठको प्रतिवद्धतामा उल्लेख छ ।

लुम्बिनीलाई अर्न्तराष्ट्रिय शान्ति सम्झौता गर्ने पवित्र स्थलको रूपमा स्थापित गर्न पहल गर्ने, सात वटै प्रदेशमा रहेका पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थलहरूलाई पूर्वाधार विकास गरी पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने, हनुमानढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीय स्थल बनाई पर्यटकलाई आकार्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्ने, पर्यटकीय र सार्वजनिक स्थलहरूमा सम्पदामैत्री र वातावरणमैत्री स्मार्ट शौचालय निर्माण गर्ने समेत प्रतिवद्धतामा उल्लेख छ ।

साथै युवाहरूलाई स्वरोजगारको लागि सिपमूलक तालिम प्रशिक्षणको व्यवस्था मिलाउने, मठमन्दिरका गुरु, पुजारी वहा र वहीका प्रमुखहरू र परम्परागत बाजा, नृत्य सिकाउने गुरुहरुलाई प्रोत्साहन गर्ने, पर्यावरण संरक्षणको लागि वृक्षको संरक्षण र वृक्षारोपण जस्ता कार्यहरुलाई अभियानको रूपमा सञ्चालन गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख छ ।

काठमाडौं १३ र नागार्जुन नगरपालिका स्थित कर खुसी मनमतीखोलालाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापन सहज बनाउन करिडोर विकास योजना सञ्चालन गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ ।

पूर्वाधार निर्माणका कार्यहरु अपाङ्गतामैत्री गराउने, सार्वजनिक जग्गा संरक्षण गरि पार्क निर्माण गर्ने कार्यलाई निरन्तरता दिने, डल्लु आवासमा निर्माणधिन वहुउद्देश्य कभर्डहल निर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्ने, स्थानीय मातृभाषाको विकासको लागि मातृभाषा अध्ययन अध्यापन गर्ने शिक्षण संस्था र विद्यालयहरुलाई आर्थिक अनुदान उपलब्ध गराउने, स्वास्थ्य बिमा कार्यक्रमलाई काठमाडौमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने, जेष्ठ नागरिक र बालबालिकाहरु घुम्न र खेल्न पार्कहरु निर्माणको लागि पहल गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्रहरु स्थापना गर्न पहल गर्ने, जेष्ठ नागरिक दिवा सेवा केन्द्रहरू स्थापना गर्न नीति निर्माण र सञ्चालनको लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन र पारदर्शिताका लागि क्रियाशील हुने तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति प्रभावकारी कार्यन्वयन गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । नयाँ सविधानको कार्यान्वयनको क्रममा जनजाति, भाषा, संस्कृति र सम्पदाको लागि पक्षपोषण गर्ने जनपक्षीय कानून निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ ।

Facebook Comments