भण्डारढिकको रंगशाला स्तरोन्नति गर्छौं: कोइराला
कास्की क्षेत्र नम्बर १ (क) का गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका दीपक कोइरालाले लेखनाथको भण्डारढिकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने बताउनुभएकाे छ।
कोइरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा रंगशालाको मुहार फेरिएको बताउँदै आगामी निर्वाचनमा विजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नति गर्ने बताउनुभएकाे हाे ।
‘खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,’ उहाँले भन्नुभयाे, ‘क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष रहँदा खेलूकदका क्षेत्रमा उल्लेख्य काम भएका छन् । कास्की १ (क)मा निर्वाचित भएपछि भण्डारढिक रंगशालाको मुहार फेर्ने प्रयास रह्यो । गठबन्धनका उम्मेदवारको विजयले मात्रै यो सम्भव छ ।’
चुनावी अभियानका क्रममा बिहीबार पोखरा ३० का ठाटडाँडा, गौडाको मुख, शिशुवा, मोहरिया, खुदी, ढुंगेपाटन, साँघुको मुख, पावरहाउस, गगनगौंडा लगायतका क्षेत्रमा भएका कोणसभामा कोइरालाले आफूले जनतलाई ठूला सपना बाँढेर भ्रमित नपार्ने बताउनुभयाे ।
उनले स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाताले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गर्नुभयाे । ‘युवाको रोजाइ युवा नै हुनेमा म ढुक्क छु । त्यसैले मेरो जित सुनिश्चित छ,’ काेइरालाले भन्नुभयाे । उहाँले अबको कार्यकाल अविस्मरणीय र सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

