नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी
नेपाल र चीनबीच ६ बुँदे अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गर्नुभएकाे हाे ।
ली नेपाल भ्रमणका लागि सोमबार मात्र काठमाडौं आउनुभएकाे हाे । भ्रमणकै शुरू भएकै दिन काठमाण्डाै बानेश्वरस्थित संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो ।
त्यसक्रममा बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने लगायतका ६ बुँदे समझदारी भएको छ ।
समझदारीपत्रमा दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएकाे उल्लेख छ ।

त्यस्तै दुबै पक्षवीच दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने, नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने समझदारी भएकाे छ । .
यसका साथै दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने, साथ दिने तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्ने समझदारी भएकाे छ ।
समझदारीमा दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका वारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकार बीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरु बीच अन्तरआवद्धता अभिवृद्धि गर्ने उल्लेख छ ।
त्यस्तै पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्ने, दुइ देशकाे साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्ने समझदारी भएकाे छ ।

