सर्वदलीय बैठकः जुट्ला त स्थानीय तहकाे निर्वाचनमा सहमति

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ। आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो । तर दलहरू स्थानीय तहकाे निर्वाचनका लागि तयार भने छैनन् ।

संवैधानिक प्रावधान अनुसार स्थानीय तहकाे ५ बर्षे कार्यकाल सकिनु २ महिना अगाडि नै नयाँ जनप्रतिनिधि छनाैटका लागि निर्वाचन हुनुपर्दछ । संघ र प्रदेशकाे निर्वाचनकाे जाेड घटाउमा महत्व देखिरहेका कतिपय दल संघ प्रदेशकाे निर्वाचनपछि स्थानीय तहकाे निर्वाचन भएमा राम्राे हुने देख्छन् ।

कतिपयले ३ तहकै निर्वाचन एकैपटक गर्न पनि सुझाएका छन् । तर राजनीतिक दाउपेचका कारण बैशाखमै स्थानीय तहकाे निर्वाचन हुनेमा भने शंका छ ।

यद्यपि निर्वाचन आयोगले भने यसअघि पनि बैशाखमा स्थानीय तहकाे निर्वाचनका लागि मिति समेत प्रस्ताव गरेकाे थियाे । साे सम्बन्धमा सरकारले कुनै प्रतिक्रिया दिएकाे छैन् ।

आयोगका तर्फबाट भने बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफलकाे तयारी छ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने १७ दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ।  ‘राष्ट्रिय सभा चुनाव आउँदैछ। स्थानीय तहको चुनावको पनि तयारी भइरहेको छ। मतदाता नामवली संकलनको विशेष कार्यक्रम सकिएको छ।

यही माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। राष्ट्रिय सभाका लागि भने उम्मेदवार मनाेनयन भइसकेकाे छ ।

आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ। सरकारले भने स्थानीय तहकाे निर्वाचनबारे हालसम्म मुख खाेलेकाे छैन ।

Facebook Comments