पोखरामा ‘जायन्ट स्वीङ’ सञ्चालन

पोखराको याम्दीमा ‘जायन्ट स्वीङ’ थपिएको छ । साहसिक खेलकुदको गन्तव्य स्थल भनेर चिनिने पोखरामा एकैपटक ३ जनाले स्वीङ गर्न मिल्ने ‘जायन्ट स्वीङ’ थपिएको हो । पोखराको याम्दीमा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले ‘जायन्ट स्वीङ’ सञ्चालनमा ल्याएको जनाएको छ । ३ जनाले एकैपटक गर्न मिल्ने ‘जायन्ट स्वीङ’ यो नेपालकै पहिलो भएको कम्पनीको दाबी छ ।

साथै यो नेपालकै सबैभन्दा अग्लो भएकोपनि दाबी गरिएको छ ।हाइग्राउण्ड एडभेन्चर्स नेपालले एकदशक अघि जिपलाइनबाट एडभेञ्चर्स स्पोर्ट्सको व्यवसाय शुरु गरेको थियो । त्यसको २ वर्षपछि बञ्जी जम्प शुरु गरेको यो कम्पनीले एकैपटक दुई जनाले बञ्जी गर्न मिल्ने टेण्डम सेवा र जीपलाईनमा ‘सुपरम्यान जीपलाइन’ प्रोडक्टपनि थपेर सेवा दिइरहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पछिल्लो पटक ‘जायन्ट स्वीङ’ थपेको कम्पनीका निर्देशक दीनेश महर्जनले बताउनुभयाे । ‘जायन्ट स्वीङ’ सबै उमेर समूहका लागि उपयुक्त हुने उहाँको भनाई छ । ‘जायन्ट स्वीङ सबै उमेर समूहका लागि हो । यसमा ८ वर्षको बालबालिकादेखि ७० वर्षको बृद्धबृद्धापनि रमाउन सक्छन्’—उहाँले भन्नुभयाे ।

जायन्ट स्वीङको ‘थ्रिल’अनुभव तीन मिनेटको हुन्छ । यो खोलाको लेबल भन्दा ६० मिटर माथि बनाइएको छ । त्यस भन्दा ३० मिटर माथि लगेर स्वीङ गराईन्छ । त्यसैले यसको उचाई जमिनको सतह भन्दा ९० मिटर माथि रहने निर्देशक महर्जनले बताउनुभयाे । ‘जायन्ट स्वीङ’का लागि ३० मिटर अग्लो फलामे टावर राखिएको छ । दुईवटा टावरको बिचमा सिट वटा सिट राखिएको छ । जहाँ स्वीङ गर्ने व्यक्तिलाई बेल्टले बाँधेर राखिन्छ । त्यसपछि सिटमा बसेका पाहुनाई ३० मिटर माथि पु¥याएर छाडिन्छ । त्यसपछि स्वीङ गर्नेहरु हुत्तिएर खोलातर्फ जाने र फर्किने हुँदै मनोरञ्जन लिन्छन् ।

हाईग्राउण्ड एडभेञ्चर्स नेपालले ‘जायन्ट स्वीङ’लाई पारिवारिक प्रोडक्ट भनेको छ । परिवारका सदस्यहरुले एकैपटक खेल्न मिल्ने भएकाले यसलाई पारिवारिक प्रोडक्ट भनिएको अर्का निर्देशक शरद गोल्छाले बताउनुभयाे । उहाँले दशैंमा खेलिन लिंगे पिङकोजस्तै मज्जा हुने भन्दै उहाँले भन्नुभयाे, ‘यो निकै साहसिक र थ्रिल हुन्छ । ३० मिटर माथिबाट हुत्तिएर खोलातर्फ हुत्तिदा खोला सतहको झण्डै एक सय मिटर तलको भाग अनुभव गर्दा निक्कै मज्जा र आनन्द आउँछ ।’

कम्पनीले ‘जायन्ट स्वीङ’को लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ टिकटदर तोकेको छ ।

निर्देशक गोल्छाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्ने बताउनुभयाे । त्यहि भएरपनि आफूहरुले जायन्ट स्वीङसहितका प्रोडक्टहरु थपेको उहाँको भनाई छ । उहाँले छिट्टै अन्य प्रोडक्टहरुपनि थप्ने योजना रहेको बताउनुभयाे ।

अर्का निर्देशक अभिनव चुरिवालले कोरोनाका कारण जायन्ट स्वीङको लञ्चिङमा ढिलाई भएको बताउनुभयाे । ‘हामीले झण्डै एक डेढ वर्ष अघि नै यो प्रोडक्ट लञ्चिङ गथ्र्यौं तर कोरोनाका कारण ढिला भयो’–उहाँले भन्नुभयाे ।

एउटै परिसरमा तीनवटा फरक÷फरक गतिविधिका प्रोडक्ट भएकाले सबैलाई रमाउने गरि एकीकृत प्याकेज बनाइएको अर्का निर्देशक भरत गोल्छाले जानकारी दिनुभयाे । बञ्जी, जीपलाइन र स्वीङका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ प्याकेजमा टिकटदर तय गरिएको उनले बताउनुभयाे । तर छुट्टाछुट्टै गर्दा जीपलाइनको मात्र ५ हजार, बञ्जीको ४५ सय र स्वीङको २ हजार रुपैयाँ पर्ने गर्छ ।

हाईग्राउण्ड एडभेञ्चर्स नेपालद्वारा सञ्चालित जीपलाईन, बञ्जी र जायन्ट स्वीङसमेत गरेर हालसम्म २६ करोड लगानी भइसकेको छ । पछिल्लो पटक थपिएको जायन्ट स्वीङमा मात्र २ करोड लगानी भएको निर्देशक गोल्छाले बताउनुभयाे ।

कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दीनेश महर्जन गरि ४ जनाको लगानी रहेको छ ।

Facebook Comments