चेपे ए जलविद्युत आयोजनास्थलमा शान्ति सुरक्षाकाे माग
चम्पावती हाइड्रोपावरले निर्माणाधीन चेपे ए जलविद्युत आयोजनाकाे पावरहाउसबाट निस्कने पानी राइनासटार जाने नहरकाे मुहानभन्दा माथि नै खस्ने र नहरमा पानीकाे स्राेत अभाव नहुने स्पष्ट पारेकाे छ । साथै असुरक्षा भएकाले शान्ति सुरक्षाकाे प्रत्याभूति गराउन सञ्चालकले सरकारसँग माग गरेका छन् ।
राइनास सिंचाई योजनासँग सराेकार राख्दै नहरकाे मुहानभन्दा तल पानी झार्न खाेजेकाे भन्दै केही व्यक्तिकाे उक्साहटमा आयोजनामा ताेडफाेड भएकाे सञ्चालककाे दावी छ ।
राइनास सिंचाइ याेजनाको सरोकार नहरको मुहानमा पानीको वहावको सुनिश्चिता हो जसमा आफूहरू पनि शतप्रतिशत सहमत रहेकाे र नहर संरक्षणका लागि संवेदनशील रहेकाे कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीले उल्लेख गर्नुभयाे ।
शनिबार गाेरखामा पत्रकार सम्मेलन गर्दै राइनास नहरको भविष्य विगारेर जलविद्युत आयोजना बनाउने कुरा साेच्दै नसोचेकाे पराजुलीले स्पष्ट पार्नुभयाे ।

अहिले बनिरहेका भौतिक संरचनाको जगलाई हेरेर धारणा नबनाउन आयोजनाले आग्रह गरेकाे छ । आयोजनाले राइनास नहरको मुहान चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा तल रहेको र आयोजनाको डिजाइनमा पावरहाउसको टेलरेस बाट निस्कने पानी चेपे खोला र चिल्ली खोलाको दोभानभन्दा माथि फाल्ने गरी बनाइएको स्पष्ट पारेकाे छ । यसले गर्दा राइनास नहरमा जाने पानीको वहाव यथावत रहने र नहरलाई कुनै असर नपर्ने स्पष्ट छ आयोजनाका तर्फबाट प्रवर्द्धक कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत अध्ययन प्रतिवेदन अनुसार नै निर्माण कार्य अडाडि बढाएकाे पनि स्पष्ट पारेकाे छ । अध्यक्ष पराजुलीले ताेडफाेड र आगजनीका कारण आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको नभएकाले कामकाे वातावरणा निर्माणका लागि शान्ति सुरक्षाकाे प्रत्याभूति गराउन सरकारसँग माग गर्नुभयाे ।
उक्त तोडफोड र आगजनी कारण भएको भौतिक क्षति, आयोजना निर्माणमा हुने जाने ढिलाईले गर्दा लागत बढ्ने तथा आम्दानी घटन गई झण्डै ३३ करोड ४० लाखको बराबरको क्षति हुने आयोजनाकाे दावी छ ।

यसबाट केन्द्र, प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने रोयल्टीमा समेत असर पर्ने देखिएकाे छ । यस घटनाको छानविन गरी दाेषीमाथि कानुनी कार्वाहीका लागि समेत प्रशासनसँग आयोजनाले माग गरेकाे छ ।

यस्ता खालका घटनाले मुलुकको राष्ट्रिय गौरव एवं प्राथमिकताका रहेको जलविद्युतको क्षेत्रमा लगानी गर्ने लगानीकर्ता एवं सरोकार राख्ने सबैमा नकारात्मक असर पर्ने तथा धाकधम्की र लगानीको समेत सुरक्षा नहुने अवस्थाले लगानीकर्ता तथा दक्ष विज्ञ जनशक्ति पलायन हुने भएकाले गम्भीर हुन सरकार समक्ष समेत आयोजनाले माग गरेकाे छ। साथै चम्पावती हाइड्रोपावर स्थानीय सरोकारका जायज बिषयहरुमा संवादका माध्यमबाट समाधान खोज्न सदैव सकारात्मक रहेको समेत जनाएकाे छ ।

