सत्ता गठबन्धनको बैठकः जुटला त एमसिसीमा सहमति !
सत्ता गठबन्धनमा दरार ल्याइरहेकाे एमसिसीकाे बिषयमा सहमति जुटाउने प्रयासमा ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।
एमसिसी सम्झौता अनुमोदनकाे विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार भएकाे छलफल विनानिष्कर्ष टुंगिएकाे थियाे । यद्यपि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा भने एमसीसी टेबल नगर्ने सहमति भएकाे बताइन्छ ।
बिहीबारकाे बैठकपछि नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बताउनुभएकाे थियाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १६ भित्र एमसिसी पारित गर्नुपर्ने भन्दै दलहरूवीचकाे छलफलमा तीव्रता दिनुभएकाे छ । साेही प्रयास स्वरूप प्रधानमन्त्रीले माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नभएकाले विपक्षी नेकपा एमालेसँग समेत छलफल गरिरहनुभएकाे छ ।
यसअघि अरू नेताहरूले एमालेका नेताहरूलाइ भेटेका थिए भने बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नुभएकाे थियाे ।

