नागरिकता विधेयक संसदबाट हुबहु पारित

नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता भएको संसदबाट पुनः जस्ताको तस्तै पारित भएको हाे ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको थियाे भने विपक्षमा ६० मत परेको हाे ।

१९५ सांसद उपस्थित बैठकमा साे विधेयक बहुमतले पारित भएकाे सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयाे ।

बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । विपक्षी एमालेले विधेयकमा पुनर्विचार गर्नुपर्ने बताएकाे थियाे । खास गरी विवाह गरेर आउने महिलालाइ अंगीकृत नागरिकता दिनका लागि ७ बर्षकाे अवधि राख्नुपर्ने एमाले सांसदहरूकाे मत थियाे ।

छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले भने नागरिकता विधेयक संविधानमा उल्लेखित प्रावधान अनुसार नै रहेकाे भन्दै विधेयक संशाेधन भन्दा संविधान नै संशाेधन गर्नुपर्ने भन्दै साेमा छलफल गर्न सकिने बताएका थिए ।

विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाे सत्ता पक्षका सांसदकाे तर्क थियाे ।

Facebook Comments