भीम रावलले सत्ता गठबन्धनलाई सहयोग गर्नुहुन्छ: मन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउनुभएकाे छ ।
मन्त्री कुँवरले मंगलबार संवाद डबलीले आयोजना गरेको बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका अभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सहयोग पुग्ने बताउनुभयाे ।
“भीम रावललाई राष्ट्रिय नेता हो, उहाँ अछामी जनताको अभिभाव पनि हो, अछामी जनताले रोजेका र जनताको हितमा काम गर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ” मन्त्री कुँवरले भन्नुभयाे । उहाँले लोकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन बनेकाले रावल लगायत अछामको बौद्धिक समुदायले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त समेत गर्नुभयाे ।
सत्ता गठबन्धनको तर्फबाट अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री कुँवरले आफूले कुटो, कोदाली, बाख्रा चलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमा आवाज उठाएको अछामी जनताले बुझेको बताउनुभयाे ।
सेती लोकमार्गजस्ता विकासका अधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागि आफूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकोले जित सुनिश्चित जस्तै भएको कुँवरले दाबी गर्नुभयाे ।
नेकपा एकीकृत समाजवादीको नेता समेत रहेका मन्त्री कुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामा श्रमिकसँग श्रममन्त्री, सामाजिक सुरक्षा कोषलाई श्रमिकको पक्षमा उपयोग, नयाँ श्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँग जोड्ने लगायतका कार्यक्रम लागु गरेको जानकारी समेत दिनुभयाे ।
उहाँले बेलायत, जर्मनी, हंगरीजस्ता देशमा श्रम सम्झौता गरेको समेत बताउनुभयाे । त्यसैगरी कार्यक्रममा सोही निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभा (क) का उम्मेदवार मेघराज खड्काले देशको आवश्यकताका कारण गठबन्धन बनेको बताउँदै आफूहरु प्रतिवद्ध भएको बताउनुभयाे ।
उहाँले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षा गर्ने बताउनुभयाे । सुदूरपश्चिम प्राकृतिक साधन र स्रोतको प्रयोग गरी खड्काले धनी प्रदेश बनाएर जनताको जीवनमा समृद्धि ल्याउन पनि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयाे ।

