विवेकपूर्ण ढंगबाट मतदानमा सहभागी हुन मुख्यमन्त्री पोखरेलको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गर्नुभएकाे छ ।
प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभएकाे छ ।
मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताउनुभएकाे छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यम रहेको सन्देशमा उल्लेख छ ।
आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको भन्दै मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित ३ तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौं ।’


